काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन्।
संसद सचिवालयमा पत्रकारसँग कुरा गर्दै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित सचिवालयले तयारी गरेको बताए। ‘सकेसम्म चाँडो संसद राख्नका लागि छलफल हुँदैछ’ सभामुख सापकोटाले भने।
बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन। ‘संसद सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो?’ भन्ने प्रश्नमा सभामुखले सापकोटाले आफूहरू तयारीमा अवस्थामा रहेको र सरकारसँग पनि कुरा भइरहेको बताए। बजेट अधिवेशन चलिरहेकै समयमा सरकारले गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो।
संसद अधिवेशनको बोलाउने समयसीमा ६ महिना कटाउन नहुने भएकाले अबको एक महिनाभित्र सरकारले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ। संसद अधिवेशनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ। तर सरकार भने पछिल्ला दिनहरुमा संसद चलाउनेभन्दा अध्यादेश ल्याउने कार्यमा व्यस्त रहेको देखिन्छ। सरकारले केही दिनअघि एसिड प्रहार गर्नेलाई कारबाही गर्ने अध्यादेश जारी गरेको थियो भने भर्खरै बलात्कारको मुद्दा मिलापत्र गर्नेलाई पनि सजाय गर्ने अध्यादेश ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।