काठमाडौं– हरियो पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा लामबद्ध भएकाहरुलाई लामबद्ध हुनुको कारण सोध्नुस्। ‘देशमा अवसर छैन के गर्नु?,’ अधिकांशको जवाफ यही हुन्छ।
के साँच्चै नेपालमा अवसर नै छैन त? यो प्रश्न नेपालमा कवाडी संकलन गरेर गुजारा टारिरहेका भारतीय श्रमिक सिकन्दर जादवलाई सोध्ने हो भने उनले भनिदिन्छन्– ‘नेपाल काम करने वालों के लिए अवसरों की खान है।’ अर्थात् काम गर्नेहरुका लागि नेपाल अवसरको खानी हो।
हुन पनि उनका लागि नेपाल अवसरकै खानी बनेको छ। शारीरिक अशक्तता भएर पनि ३५ वर्षीय सिकन्दरले नेपालमा कवाडी संकलन गरेरै भारतको उत्तर प्रदेश मोतिहारीमा रहेको आफ्नो ६ जनाको परिवार पालिरहेका छन्। केही समय अगाडि पक्षघातका कारण उनको आधा शरीर नचल्ने भएको थियो। तर पक्षघात जितेर पाखुरीसँगै उनी हिजोआज परिवार चलाइरहेका छन्। एउटा आँखा पनि फुलो परेको छ। आँशु बगिरहन्छ। ‘आँखा फुली परेको छ। यो हात पनि राम्रो काम गर्दैन हजुर, पहिले त आधा शरीर नचल्ने भएको थियो । लेकिन प्रभुका दया न, कुछ ठीक हो गया। कमाने खानेके लिए हो गया,’ काम गरेर खान सक्ने भएकोमा उनी निकै खुसी देखिन्छन्।
सिकन्दर कामको सिजन ९उनको कामका लागि सिजन भनेको वैशाख र जेठको २ महिना, अनि दसैंअगाडि भदौ र असोजको केही समय० मा काठमाडौं छिर्छन् । बिहानै उठ्छन् । साइकल लिएर बोत्तल, कागज, फलाम, भन्दै उनी उपत्यकाका अधिकांश स्थान चहार्छन्। सामान संकलन गरेर ल्याउँछन् र कवाडी संकलन केन्द्रमा बिक्री गर्छन् । यसै गरेर उनले मासिक २० देखि ३० हजारसम्म कमाइ गरिरहेका छन्।
नेपालमा विद्यालय भर्ना हुने बेलामा वैशाखदेखि जेठसम्म किताब कापी पाइन्छ। अनि दसैं भन्दा केही अगाडिको समयमा चाहिँ कवाडहरु पाइन्छ।
‘यस्तै छ हजुर कवाडको सिजनमा नेपाल आउँछु,’ सिकन्दर भन्छन्, ‘अरु बेला पञ्जाबमै खेतको काम गर्छु।’ खेतको काम पनि धान, गहुँ काटेर भित्र्याउने बेलामा मात्रै पाउँने हुँदा उनी ७ वर्षदेखि नेपालमै निर्भर छन्। कबाडी संकलन गरेकै पैसाले उनी घर खर्च चलाईरहेका छन्। ‘बालबच्चा साना साना छन्। अरु आम्दानीको बाटो केही छैन। ‘कवाडीमै दुःख गर्दा घरखर्च चलाउन पुगिरहेको छ हजुर, तर कोरोनाले गर्दा त माल पाउँदैन। कति समय काम पनि भएन,’ सिकन्दरले सुनाए।
कोरोनाको समयमा सिकन्दरलाई निकै गाह्रो पर्यो। कवाडी संकलनको काम पनि ठप्प भयो। काम ठप्प भएसँगै मुखमा माड लगाउने बाटो बन्द भयो। राहत पाइन्छ कि भनेर यताउता बुझे। ‘इन्डियामा त हामीहरुको रासन कार्ड हुन्छ। यहाँ राहतका लागि नागरिकता चाहिन्छ भनेको थियो। नागरिकता थिएन। मारवाडीले बाँडेको थोरै राहत पाइयो त्यसले २–३ छाक टर्यो,’ उनले भने। वडाबाट ५ किलो चामल राहत लिन नागरिकता चाहिने भनेपछि उनले त्यो राहत त पाउने कुरै भएन। यहाँ मुस्किल हुँदै गएपछि उनी मोतिहारी नै फर्किए।
कोरोना महामारीपछि नेपालमा लकडाउन खुकुलो भएसँगै पुनः नेपाल फर्किएका उनी पहिलेजस्तो कमाइ नभएको बताउँछन्। यो समयमा उनले मासिक १५ हजारसम्म मुस्किलले कमाइ गरे।
मोतिहारीकै राजकिशोर पाण्डे ९५०० पनि सिकन्दरसँगै काम गर्छन्। उनीहरु एउटै कवाडी संकलन केन्द्रमा कवाडी संकलन गरेर बिक्री गर्छन्। कवाडी संकलन गरेर राख्ने गोदामकै कुनामा रात कटाउँछन्। उनले नेपालमा कवाडी संकलन गरेर गुजारा चलाउन थालेको २० वर्ष भयो। ‘सिजनमा नेपालमा फर्किन्छु। २÷४ महिना काम गर्छु। दुःख गरेअनुसार कमाइ ठीकै हुन्छ,’ राजकिशोर सुनाउँछन्।
उनले पनि कवाडी संकलन गरेरै ५ जनाको परिवार खर्च धानिरहेका छन्। छोराछोरी पढाएका छन् ।
राजकिशोरलाई नेपाल अवसरको खानी जस्तो लाग्छ। ‘अवसर नभए त हामी मोतिहारीबाट यहाँ किन आउँनु? काम गरेपछि कमाइ ठीकै हुन्छ। छोराछोरी पढाउन। घर खर्च चलाउन पुग्छ र पो हामी आउँछौँ,’ उनले भने।
सिकन्दर र राजकिशोर मात्रै होइन अधिकांश भारतीय श्रमिकहरुले नेपालमा कवाडी संकलन गरेर राम्रो आम्दानी गरिरहेका छन्। तर कवाडी संकलनको काममा नेपालीहरु भने छिटफुटमात्र भेटिन्छन्। त्यो पनि तराईवासीहरु।
अधिकांश नेपाली श्रमिकहरु नेपालमा अवसर नभएको भन्दै परिवार खर्च चलाउनकै लागि खाडीलगायत मुलुक चहार्छन्। बरु त्यहाँ पुगेर उनीहरु जस्तोसुकै काम गर्न पनि तयार हुन्छन्। तर खाडीको चर्को घाममा दिनरात पसिना बगाउँदा पनि अधिकांशको कमाइ नेपालमा कवाडी संकलन गर्नेहरुको जत्ति पनि नभएका घटनासमेत थुप्रै छन्। यो दृश्यले नेपालमा अवसर नभएको होइन अवसरको सदुपयोग नगरिएको भन्ने प्रष्ट देखाउँछ। नेपालीहरु जस्तोसुकै काम नगर्ने, काम गरेर सानो भइएला कि १ इज्जत जाला कि १ यो काम गर्दा कसैले केही भन्ला कि१ भनेर लजाउने प्रवृत्तिले पनि देशको अवसर कुल्चिएर अवसरको खोजीमा परदेशिने प्रवृत्ति बढेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।