रमाल्लाह- कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ठ शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोना भाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो।
फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ। इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो। प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो।
उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। इरेकातको तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो।
इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्थकर्ताका रुपमा कार्य गरेका थिए। इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्ति वार्तामा इरेकातले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।