काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ।
संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री ज्ञवालीबीच सोमवार सिहंदरवारमा भएको भेटमा उक्त माग गरेको हो।
भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य बिभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो।
कोभिड- १९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरिएको थियो।
भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरे।
यस्तैमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे। मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाको समेत उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।