न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको जनाएका छन्।
उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ। अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ।
कोरोना भाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको छ। राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहेका ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन।
मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए। त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिए। त्यसैले उनीबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ।
उनी मतगणना स्थलहरुमा पनि मास्कबिना जाने गरेकाले उनले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन्। यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उनलाई सबैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहेका थिए। ट्रम्पले कोरोना भाइरसलाई सामान्यीकरण गर्दै आएका छन्।
अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन्। अहिलेसम्म ९७ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।