रौतहट- कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती १२ बजेदेखि भिडभाड हुने गतिविधिमा रोक लगाइको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञा जारी गर्दै मंसिर १७ सम्म भिडभाड हुने गतिविधिमा रोक लगाएका हुन्।
जिल्लाभरि लागू हुने निषेधाज्ञामा सार्वजनिक खेलकूदका गतिविधि, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्नमा जिप्रकाले रोक लगाएको छ। मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा पनि दैनिक नित्य, पूजाराधनाबाहेकका गतिविधि सञ्चालन नगर्न आदेशमा भनिएको छ।
निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योगवाणिज्य÷व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग जिप्रकाले अनुरोध गरेको छ।
दीपावली, छठ र बागमती नदी किनारमा पूर्णिमा मेला लगायतका अवधि पर्ने भएकाले यी मेलापर्वमा भिडभाड हुन नदिन निषेधाज्ञा जारी गरिएको कार्यालयले जानकारी दिएको छ।
प्रजिअ यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्।
कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेको र १७४ संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।