न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पुनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन्।
संक्रमण रोग न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनसम्बन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन्।
अमेरिका व्यापक सङ्क्रामक रोग कोरोना भाइरसबाट अत्यन्त आक्रान्त बनेको बेला नै उनले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको समाचारमा जनाइएको छ।
गत बसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो।
डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आएको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन्।
कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए।
चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उनलाई निष्काशन गर्ने चेतावनी दिएका हुन्।
‘यसबारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईंहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,’ उनले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काउँदै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।