काठमाडौं-गत आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को साेही अवधिमा चिनीको आयात करिब १६ सय प्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको असोज मसान्त सम्ममा ४८ लाख ३३ हजार ४ सय ११ किलो चिनी आयात भएको थियो। तर चालु आर्थिक वर्षको सोही अवधिमा आयात १५ सय ९२ प्रतिशतले बढेर ८ करोड १८ लाख १ हजार ९ सय ५३ किलो पुगेको छ। यो निजी क्षेत्रबाट आयातित चिनीको मात्रै तथ्यांक हो। सरकारले ५० प्रतिशत भन्सार छुटमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् ल्याउन लागेको ३० हजार मेट्रिक टन चिनी भने अझै आइपुगेको छैन।
चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा आयात बढेका प्रमुख १० वस्तुहरुमा भटमासको कच्चा तेल र मोबाइल फोनपछि तेस्रो नम्बरमा चिनी छ। नेपालमा चिनीको वार्षिक माग साढे २ लाख मेट्रिक टन बराबर छ। जसमा ४० प्रतिशत नेपाली उत्पादन र ६० प्रतिशत आयातित चिनीले धान्दै आएको छ। अहिले विश्व बजारमा ०.३१ अमेरिकी डलर प्रतिकिलोमा चिनी बिक्री भईरहेको छ। तर नेपाली बजारमा भने अहिले ८५ देखि ९० रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री वितरण भइरहेको छ।
चिनी आयातमा ४० प्रतिशत कर लाग्छ। अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो हुँदै गइरहेकाले पैठारीकर्ताले गत वर्ष प्रति किलोग्राम ४० देखि ५५ रुपैयाँसम्ममा चिनी पैठारी गरेको देखिन्छ। अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मान्दा नेपाली बजारमा प्रतिकिलो अधिकतम ६५ देखि ७० रुपियाँमा पाउनु पर्ने भए पनि सर्वसाधारण उपभोक्ताले ३० देखि ३५ रुपियाँं बढी मूल्य तिरिरहेका छन्।
नेपालमा भारत, पाकिस्तान, ब्राजिललगायत मुलुकहरुबाट चिनी आयात हुने गरेको छ। नेपाली व्यापारीले चिनीको मूल्य नपाएको भन्दै किसानलाई समेत उखुको भुक्तानी नदिएर मारमा पार्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।