अर्मेनिया- अजरबैजान र अर्मेनियाबीच हालै मात्र भएको नयाँ युद्धविरामको पनि पालना नभएको बताइएको छ। यी दुई देशबीचमा युद्धविरामका विषयमा सहमति भएको बताइएको थियो। यी दुई देशबीच गएको आइतबारको मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो।
अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको थियो। तर सो युद्धविराम भएपछि पनि यहाँ फाटफुट आक्रमण र हमलाहरु भइ नै रहेको बताइएको छ।
यसअघि पनि यी दुई देशका बीचमा जारी युद्ध रोकिएको थियो। पहिले यी दुई देशबीच रुसको मध्यस्थतामा युद्धविराम भएको थियो तर कार्यान्वयन भएको छैन। केही दिनअघि रुसी राजधानी मस्कोमा दुई देशबीच वार्ता भएको थियो र उक्त वार्तापछि युद्धविरामको सहमति भएको समाचारमा जनाइएको थियो।
पछिल्लो सयममा अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय संस्था र देशको सहमतिमा यी दुई देशका बीचमा नयाँ युद्धविरामको सहमति भएको बताइएको थियो। दुई देशका बीचमा दशकौँदेखि भूमिसम्बन्धी विवाद रही आएको छ। यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ।
हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर कैयौं नागरिकले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ। काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो। त्यसैले दुई देशलाई युद्धविराम गरेर शान्ति स्थापना गर्नु भनिए पनि त्यहाँ युद्ध भने जारी नै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।