फाइल तस्बिर
जाजरकोट- ‘दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौंदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतविच्छेत बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ,’ बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले आफ्नो पीडा सुनाइन्।
गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उहाँको छ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ। गाउँपालिका र अन्य सङ्घसंस्थाले राहतस्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो। भएको पाखोबारी सबै पहिराले लग्यो। ‘घरमा कमाइ गर्ने कोइ नाइँ, अब के खाएर बाँच्ने हो, पेटभरि खान पाएका छैनौं, हामी त साह्रै समस्यामा पर्यौँ हजुर,’ गोरीले भनिन्, ‘पहिले घर भएको ठाउँ फर्कन सक्ने अवस्था छैन, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन।’
उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन्। पहिराले केही घर बगाएको र बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरू त्रिपालको सहारा लिएर बसिरहेका छन्। केही समय विद्यालयमा बसेका उनीहरू अहिले जङ्गलमा बसेका छन्। विद्यालयमा पढाई शूरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन्।
‘त्यही त्रिपालमै जमारा राखेका छौं,’ विस्थापित नैनबहादुर नेपालीले भने, ‘मिठोमसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दसैँ मनाउने त सपना भइसक्यो, त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दसैँ हुने थियो।’ बारेकोटमा गएको पहिरामा परी १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए। वर्षात् रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन्।
‘हाम्रो बस्ने ठाउँ पहिराले सबै बगाएर लग्यो, हामीलाई पुनर्बासको व्यवस्था गरिदिनुपर्यो,’ विस्थापित गोपाल कामीले भने, ‘हाम्रो समस्या भनेकै गाँस र बासको हो।’ चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ। घाट र काउलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल भए पनि पैसा नहुँदा चामल ल्याउन नसकेको पीडितको भनाइ छ। विस्थापित परिवारलाई पुनःस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकाले प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।