मस्को- किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेका छन्। यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा विजय हासिल गरेका थिए।
तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपतिविरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए। विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिएका छन्।
सरकारी कार्यालयहरुमा आक्रमण समेत हुन थालेपछि निर्वाचन अधिकारीहरुले संसदीय निर्वाचनको नतिजालाई पनि खारेज गरिदिएका थिए। प्रदर्शनकारीले जेलमा बन्द रहेका सदिर झापारोभ समेत धेरै विपक्षीहरुलाई मुक्त गरेका थिए।
राष्ट्रपति सूरोनबाईले विपक्षी नेता सदिरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने झापारोभ स्वयंले आफूलाई राज्यप्रमुख घोषणा गरेका थिए।
बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्नेगरी तोकेको छ। राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ।
चीनसँग सीमा जोडिएको मध्य एसियाली राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा तीन पटक सत्ता विद्रोह भइसकेको छ। यसअघि सन् २००५ र २०१० मा सत्ता विद्रोह भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।