बिश्केक- किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन्।
राष्ट्रपतिविरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कंदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेको अनुमान गरिएको छ।
राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन्, ‘म सत्तामा रहिरहन चाहन्न। किर्गिजस्तानका जनताको भावनाविपरीत काम गर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन। त्यही कारण म राजीनामा दिँदैछु।’
राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन्।
किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ। सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केकलगायतका प्रमुख शहरमा परिचालन गरेको छ।
प्रहरीले सयौँ प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ। पूर्वसोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्यएसियाकै निकै गरिब मुलुकमा गनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।