मस्को- अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको छ। रुसका रक्षामन्त्री सेर्गेइ सउगीले सो आग्रह गरेका हुन्। उनले बुधबार अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गरेको बताइएको छ।
रुसको पहलमा एक हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर युद्धविराम भएको थियो।
तर पनि उक्त युद्ध विरामको उल्लंघन भइरहेको छ। रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिनयतादेखि नै आइरहेका छन्।
नागोर्नो काराबाख प्रशासनले अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा आफ्ना ४५ भन्दा बढी सैनिक मारिएको जनाएको छ। योसँगै गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सय २५ सैनिक मारिएको दाबी स्थानीय प्रशासनले गरेको छ।
उक्त क्षेत्रलाई अजरबैजानले दाबी गर्दै आएको छ तर पनि त्यहाँ अर्मेनियाली मुलका मानिसहरु बस्दै आएका छन्। अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन्। यस क्षेत्रमा पछिल्लो समयमा भएको युद्धविरामको उल्लंघनका विषयमा पनि एक आपसमा दोषारोपण गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।