बागलुङ- जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ। केही समय नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ। पछिल्ला दश दिनमा मात्र १ सय २१ जना सङ्क्रमित थपिएका छन्।
शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए।
‘सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा सङ्क्रमण बढी छ,’ उनले भने, ‘क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ।’ यात्रा विवरण नभएका सङ्क्रमित फाट्टफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाइ छ।
समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३६७ छ भने आइसोलेसनमा १५७ सङ्क्रमित छन्।
कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ८५ छ। हालसम्म आठ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ। सङ्क्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन्।
सबैभन्दा बढी बागलुङ नगरपालिकामा १६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७/१७ जनामा सङ्क्रमण देखिएको छ। कोरोना सङ्क्रमणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ०.०२ प्रतिशत छ।
यस्तै पिसिआर जाँचमध्येमा ६.०२ प्रतिशत सङ्क्रमण दर छ। जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो, जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो। सङ्क्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा शय्या थप गर्न थालिएको छ। स्थानीय तहले पनि १०/१० शय्याको आइसोलेसन केन्द्र बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।