काठमाडौं- अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे गरिने भएको छ। बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तरोन्नतिको कामले तिव्रता पाएसँगै १० करोड रूपैयाँ लागतमा अस्फाल्ट सामग्री प्रयोग गरी कालोपत्रे गर्न लागिएको हो।
पहिले यस्तो प्रविधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटना यस राजमार्गमा हुँदै आएको थियो। अस्फाल्ट प्रविधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अवधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक विभागका प्राविधिक सन्तोष बस्नेतले जानकारी दिए।
सोही राजमार्गको खाडीचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ। राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भविद्हरूको अध्ययन प्रतिवेदनपछि मात्र उच्चप्रविधिको प्रयोगबाट स्थायी समाधान खोजिनुपर्ने प्राविधिकहरूको सुझाव छ।
कोठे र जुरेमा मात्रै वार्षिक करोडौं रुपैँया सडक मर्मतमा खर्च भएपनि वर्षाअघि बनाइएका संरचनाको वर्षापछि कुनै निसान नै नरहने समस्या छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।