सिओल- मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका कोरियामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरेर आइतबारदेखि ‘अनलाइन मनोसामाजिक परामर्श’ कार्यक्रम सञ्चालन गरिने भएको छ। नेपाली दूतावास सिओलको आयोजना र गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको व्यवस्थापनमा हुने उक्त वेब कार्यशाला फरक फरक विषयमा हप्ताको एक दिन आइतबार साँझ ७ बजे देखि ८:३० सम्म सञ्चालन गरिने दूतावासले जनाएको छ।
मानिसले गर्ने हरेका क्रियाकलापमा मानसिक स्वास्थ्य जोडिने विषय भएको र कोरियामा घट्ने कतिपय आत्महत्या जस्ता घटनाहरुमा पनि मानसिक स्वास्थ्य नै जोडिएको पाइएकाले उक्त विषयमा कार्यशाला गर्न लागिएको कोरियाका लागि नेपाली श्रम कन्सुलर रमा भट्टराईले बताइन्।
यस किसिमका कार्यशालाले आत्महत्या न्यूनीकरण तथा श्रमिकमा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग पुग्ने दूतावासको दाबी छ। विगतका वर्षहरुमा देशका विभिन्न स्थानमा परामर्श कार्यक्रम गरिँदै आएकोमा यो वर्ष कोरोना माहामारीका कारण अनलाइनबाटै भएपनि कार्यशाला गर्न लागिएको दूतावासले जनाएको छ।
यहाँका नेपाली श्रमिकको मानसिक तथा शारिरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालाई संम्बोधन गर्ने उद्देश्यले अक्टोवर देखि डिसेम्बरसम्ममा १२ ओटा अनलाईन कार्यक्रम गरिने बताइएको छ।
उक्त कार्यक्रमअन्तर्गत अक्टोबर ११ का दिन आइतबार ‘मानव जीवनमा योग तथा दैनिक प्रयोग विधि’ विषयमा योग तथा ध्यान प्रशिक्षक बिन्दा आचार्यमार्फत् अनलाइन प्रशिक्षण दिइनेछ।
दूतावासले एक्लै बस्न मन पराउने तथा निराशाजनक कुराहरु धेरै गर्ने नेपालीले म्यासेजमा आफ्ना समस्या राख्न सक्ने र पिडितको गोपनियतालाई कायम राखेर परामर्श प्रदान गरिने कन्सुलर भट्टराईले बताइन्।
जुममार्फत् गरिने कार्यशालामा जोडिन चाहनेले दूतावास, एनआरएनए कोरिया वा यहाँ क्रियाशिल अन्य नेपाली संस्थासँग सम्पर्क राखेर जोडिन सक्ने बताइएको छ।
उक्त कार्याशालाको दूतावास, एनआरएनए कोरिया र यहाँका अन्य संस्थाहका अफिशियल फेसबुक पेजमा लाइभ गरिने दूतावासले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।