काठमाडौं- सरकारले २०७७ को आर्थिक ऐनमार्फत् निजी प्रयोजनका विद्युतीय कारमा भन्सार बढाएर अन्तःशुल्क लगाएको थियो। कर वृद्धिको विरोध गरेका विद्युतीय कार आयातकर्ताहरुले १५ गतेको मन्त्रिपरिषदले घटाएको अन्तःशुल्क दरले मूल्य नघट्ने जिकीर गर्दै आएका छन्।
तर सरकारले निजी प्रयोजनका विद्युतीय कारमा लगाएको अन्तःशुल्क ८० प्रतिशतसम्म घटाउने निर्णय गरेको थियो। यसअनुसार ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कारमा अब ६ प्रतिशतमात्रै अन्तःशुल्क लाग्छ। मन्त्रिपरिषदको निर्णयअनुसार ५० किलोवाटसम्मकोलाई ८० प्रतिशत छुट दिइएको छ।
त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिइएको छ। १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय गरेको हो। नेपाली बजारमा आउने अधिकांश विद्युतीय कार १ सय किलोवाटका छन्।
मन्त्रिपरिषद्ले दिएको अन्तःशुल्क छुट पनि शून्यदेखि ५० र ५१ देखि १ सय किलोवाटकै कारले पाएका छन्। शून्यदेखि ५० किलोवाटमा आर्थिक ऐन २०७७ ले ३० प्रतिशत अन्तिःशुल्क लगाएकोमा मन्त्रिपरिषदले यसमा ८० प्रतिशत छुट दिएको छ। अब यो सेगमेन्टको इलेक्ट्रिक कारमा ६ प्रतिशतमात्र अन्तःशुल्क लाग्छ।
त्यसैगरी ५१ देखि १ सय किलोवाटसम्मको कारमा यसअघि ४० प्रतिशत लाग्नेमा पछिल्लो छुट ७५ प्रतिशत दिइएको छ। अब यो सेगमेन्टका कारमा १० प्रतिशतमात्र अन्तःशुल्क लाग्नेछ। साथै १ सय १ देखि १ सय ५० किलोवाट पहिले ५० प्रतिशत लाग्नेमा अब १५ प्रतिशत, १ सय ५१ देखि २ सय किलोवाटमा ६० प्रतिशत लाग्नेमा अब ४५ प्रतिशत, २ सयदेखि ३ सय किलोवाटमा ७० प्रतिशत लाग्नेमा अब ५२ प्रतिशत र ३ सय किलोवाटभन्दा माथिका कारमा ८० प्रतिशत लाग्नेमा अब ६० प्रतिशतमात्र अन्तःशुल्क लाग्नेछ।
सवारीसाधन आयात गर्दा सुरुमा भन्सार लाग्छ। निजी प्रयोजनका विद्युतीय कारमा भन्सार दरबन्दी ८० प्रतिशत (५० प्रतिशत छुट) रहेको छ। खरिद मूल्य र भन्सारपछिको मूल्यमा अन्तःशुल्क लाग्छ। अन्तःशुल्कसहितको मूल्यमा भ्याट र त्यसपछिको एकिकृत मूल्यमा सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था छ। त्यसैले अन्तःशुल्क घटेपछि भ्याट तथा सडक मर्मत शुल्क समेत स्वतः घट्छ।
केही महिनाअघि नेपाल भित्रिएको हुन्डाई कोना १ सय किलोवाटको भन्सारमा घोषणा गरिएको मूल्य ३१ लाख ६१ हजार १ सय ९५ रुपैयाँ हो। २०७६ आर्थिक ऐन अनुसार लाग्ने १० प्रतिशत भन्सारले ३ लाख १६ हजार १ सय २० रुपैयाँ हुन्छ। अन्तःशुल्कको परिकल्पना थिएन। १३ प्रतिशत भ्याट लाग्दा ४ लाख ५२ हजार ५० रुपैयाँ र यो रकमसहित आउने रकममा ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्दा १ लाख ५७ हजार १ सय ७४ रुपैयाँ हुन्छ। करपछि कम्पनीको नाफा बाहेक यो कारको मूल्य ४२ लाख ७८ हजार २ सय ७७ रुपैयाँ हुन्छ।
अब २०७७ को आर्थिक ऐन अनुसार लाग्ने कर हिसाब गरौं। भन्सारमा घोषित मूल्य ३१ लाख ६१ हजार १ सय ९५ रुपैयाँ हो। यो मूल्यमा ४० प्रतिशत भन्सार लाग्दा १२ लाख ६४ हजार ४ सय ७८ रुपैयाँ हुन्छ। १ सय किलोवाटको भएकाले यसमा ४० प्रतिशत नै अन्तःशुल्क लाग्दा १७ लाख ७० हजार २ सय ६९ रुपैयाँ पर्छ। त्यसपछि आउनु मूल्यमा भ्याट बापत १३ प्रतिशत लगाउँदा ८ लाख ५ हजार ४ सय ७२ रुपैयाँ हुन्छ।
यसपछिको समग्र मूल्यमा ५ प्रतिशत सडक मर्मत दस्तुर लगाउँदा ३ लाख ५० हजार ७० रुपैयाँ हुन्छ। कम्पनीले राख्ने नाफा बाहेक यसको मूल्य ७३ लाख ५१ हजार ४ सय ८४ रुपैयाँ हुन्छ।
यहाँ अब असोज १५ गते बसेको मन्त्रिपरिषदले दिएको अन्तःशुल्क छुटका आधारमा हुने मूल्यको हिसाब हेरौं। भन्सारमा घोषित मूल्य र त्यसमा लाग्ने भन्सार परिवर्तन नभएकाले समान नै हुने भयो। घोषित मूल्य ३१ लाख ६१ हजार १ सय ९५ रुपैयाँ हो। यो मूल्यमा ४० प्रतिशत भन्सार लाग्दा १२ लाख ६४ हजार ४ सय ७८ रुपैयाँ हुन्छ।
१ सय किलोवाटको भएकाले यो कोनामा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा ७५ प्रतिशत छुट दिइएकाले अब १० प्रतिशतमात्र अन्तःशुल्क लाग्छ। भन्सारपछिको ४४ लाख २५ हजार ६ सय ७३ को १० प्रतिशत ४ लाख ४२ हजार ५ सय ६७ रुपैयाँ हुन्छ। १० प्रतिशत अन्तःशुल्कसहित ४८ लाख ६८ हजार २ सय ४० मा १३ प्रतिशत भ्याट लगाउँदा ६ लाख ३२ हजार ८ सय ७१ रुपैयाँ हुन्छ।
भ्याटसहितको मूल्यमा ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लगाउँदा २ लाख ७५ हजार ५५ रुपैयाँ हुन्छ। कम्पनीको नाफा बाहेक सबै कर तिर्दा यो कारको मूल्य ५७ लाख ७६ हजार १ सय ६६ रुपैयाँ हुन्छ।
०७७ को आर्थिक ऐनअनुसार कोना १ सय किलोवाटको नाफा बाहेकको मूल्य ७३ लाख ५१ हजार ४ सय ८४ रुपैयाँ हुन्थ्यो भने मन्त्रिपरिषद्ले दिएको पछिल्लो अन्तःशुल्क छुटअनुसार सोही कारको मूल्य ५७ लाख ७६ हजार १ सय ६६ रुपैयाँमात्र हुन्छ। यस हिसाबले अब सो कारको मूल्यमा १५ लाख ७५ हजार रुपैयाँ कामी आउँछ। यसमा आयातकर्ता व्यवसायीको बिमा, ब्याज, भन्सारमा लाग्ने शुल्कलगायतको लागत समेत कम हुन्छ।
तर व्यवसायीहरुले भने सरकारले दिएको अन्तःशुल्क छुटले निजी प्रयोजनका विद्युतीय कारको मूल्यमा सामान्य मात्र गिरावट आउने बताएका छन्। घटेको अन्तःशुल्कका आधारमा १ सय किलोवाटसम्मको कारमा करिब १६ लाख रुपैयाँभन्दा बढी मूल्य घट्छ। ५० किलोवाटसम्मका ब्याट्री भएको कारको मूल्य अनुपातका अझै कम हुन्छ।
विगतमा विद्युतीका कारमा १० प्रतिशतमात्र भन्सार लाग्दाकै तुलनामा व्यवसायीले मूल्य नघट्ने बताएका हुन्। सरकारले २०७७ को आर्थिक ऐनमा बढाएको अनुपातमा पछिल्लो अन्तःशुल्क संशोधनले कारको मूल्य भने राम्रै घटाएको छ। व्यवसायीले मूल्य घट्दैन भन्नुको पछाडि बढी नाफा राख्ने बाटो हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।