सिओल- दक्षिण कोरियामा कार्यरत एक नेपालीले आइतबार बिहान आत्महत्या गरेका छन्।
स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोमा विगत १० वर्षदेखि सामसङमा कार्यरत यज्ञबहादुर बस्यालले आफू काम गर्दै आएको स्थानमा आत्महत्या गरेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका सचिव मनोज गौतमले जानकारी दिए।
गौतमले आफू घटनास्थलमा पुगी सिसिटिभी क्यामेरा निरीक्षण गर्दा घटना आत्महत्या नै भएको पुष्टि भएको बताएका छन्।
बस्याल कोरियामा १० वर्षे कार्यकाल पूरा गरेको र कोरोनाका कारण नेपाल जान रोकिएको बताइएको छ। उनी आगामी महिना नोभेम्बरमा घर जाने तयारीमा रहेको उनका सहकर्मीले बताएका छन्।
बिहान कम्पनीको खाना खाने स्थान (सिकताङ)मा खाना खाएर निस्किएका बस्याल लगत्तै अफिसमा गई भित्रबाट ढोका लक गरी आत्महत्या गरेको सिसिटिभी फुटेजमा देख्न सकिने गौतमले बताए।
बिदाको दिन भएकाले घटनाको विषयमा दूतावासमा अनौपचारीक जानकारी गराइएको र परिवारलाई पनि जानकारी गराइसकिएको बताइएको छ।
शव व्यवस्थापनका लागि गैर आवासीय नेपाली संघको आग्रहमा आत्महत्या नै भएपनि कम्पनीले सबै खर्च व्यहोर्ने गरी सहमति गरिएको गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।