नयाँ दिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शिर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन्। पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रूतमार्ग नजिकैबाट बिहीबार दिउसो गिरफ्तार गरेको हो।
गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकी महिलाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ। उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन्। गान्धीद्वयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो।
कांग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो।प्र
हरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए, ‘के यो मुलुकमा मोदीजीले मात्रै हिँड्न पाउने व्यवस्था छ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्नसमेत पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुईंमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन्। उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए।
उनको आग्रहको प्रत्युत्तरमा प्रहरीले भनेका थिए, ‘सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईंलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौं।’
नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोना भाइरसको महामारीका कारण सरकारले महामारी ऐनअनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनीहरुले उलंघन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।