औट्टावा- विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्ब्याएको छ। कोरोना भाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाउँदै आएको क्यानडाले अक्टोबर महिनाभरी पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
देशका सार्वजनिक सुरक्षामन्त्री बिल बलैरद्वारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ। यस्तो प्रतिबन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन्। उनका अनुसार यस्तो प्रतिबन्ध अस्थायी हो। कोरोना भाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाइ छ।
मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे। क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्बन्धी कडा व्यवस्था कायमै छ। यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागू भएको हो।
क्वारेन्टाइनसम्बन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्।
उनीहरुलाई ६ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ। कोरोना भाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ। क्यानडामा अहिलेसम्म १ लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन्। तीमध्ये अहिलेसम्म ९ हजार २९७ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।