दाङ- नेपाल सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत् दाङको घोराहीमा ठूलो लगानीमा बहुद्देश्यीय सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ। घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा निर्माण सम्पन्न गर्न थालिएको सो सभागृह २६ करोड ७७ लाख १८ हजार ९०३ रूपैयाँको लागतमा निर्माण हुन लागेको छ।
सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य सङ्घ दाङले गरिरहेको छ। निर्माणाधीन सो सभागृह निर्माणको आधा बढी काम सकिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले जानकारी दिए। सभागृह निर्माणको जिम्मेवारी बङ्गलामुखी गौरी पार्वती जेभी ललितपुरले पाएको छ। बहुउद्देश्यीय सभागृह तीन तलाको बनाइएको छ भने एक हजार क्षमताको हल बनाइएको छ।
उद्योग वाणिज्य सङ्घले विसं २०६९ को महोत्सवबाट ५१ लाख र २०७२ सालको महोत्सवबाट २४ लाख ९९ हजार रकम सङ्कलन गरेको थियो।
सो रकम पनि सङ्घले नेपाल सरकारलाई सहयोग गर्दै सभागृहमा लगानी गरेको सङ्घका अध्यक्ष भुसालले जानकारी दिए। सभागृहको शिलान्यास विसं २०६९ मा भएपनि निर्माण विसं २०७५ को कात्तिक दोस्रो साताबाट शुरु भएको थियो। सभागृह ३० महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।