पेरिस- पेरिसस्थित हास्यव्यंग्य साप्ताहिक चार्ली हेब्डोको पूर्व कार्यालय बाहिर शुक्रबार भएको आक्रमणप्रति चासो व्यक्त गर्दै यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले फ्रान्ससँग आतंकवादी गतिविधिविरुद्ध ऐक्यबद्धता जनाएका छन्।
शुक्रबार एक व्यक्तिले चक्कु प्रहार गर्दा चार जना घाइते भएपछि मिशेलले फ्रान्सलाई सहयोगको सन्देश पठाएका हुन्।
‘फ्रान्समा एक समूहले लुकिछिपी आक्रमण गर्दा घाइते बनेका पीडित र उनीहरूका आफन्तसँगै सम्पूर्ण फ्रान्सबासीप्रति यतिबेला म सहानुभूति व्यक्त गर्न चाहन्छु। युरोपको भूभागमा आतंकको कुनै ठाउँ हुनेछैन,’ पूर्व बेल्जियमका प्रधानमन्त्रीले ट्वीटरमार्फत् लेखेका छन्‚ ‘यस्तो घडीमा म फ्रान्सेली जनतासँग पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछु।’
सन् २०१५ जनवरीमा सोही स्थानमा एक आतङ्कवादी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। शुक्रबार भएको आक्रमणलाई फ्रान्सले त्यही आक्रमणको झझल्को दिन गराइएको आतंकवादी प्रयास भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।