प्रतिकात्मक तस्बिर
एजेन्सी- विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएको बताइएको छ। जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तैः बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको हो।
इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा यस्तो जानकारी दिइएको हो। कोभिड- १९ ले पनि प्रत्यक्ष रूपमा मौसमसम्बन्धी प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पारेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ।
उक्त प्रतिवेदनमा उल्लेख गरिएअनुसार विश्वका कैयौं मानव समुदायहरुमा एकपछि अर्काे गर्दै जोखिमको मात्रा बढाइदिएको प्रमाणित भएको पनि जनाइएको छ। सन् २०२० मा अहिलेसम्मको मौसमी प्रकोपका १३२ घटनाहरुमा ९२ वटा कोभिड- १९ को महामारीको साथ भएको पनि देखिएको बताइएको हो।
कम्तीमा ५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोभिड- १९ बाट क्षति पुगेको तथ्यांक सो प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढी, खडेरी वा आँधीबेहरीबाट ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएका सो प्रतिवेदनमा देखाइएको छ।
यस प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बंगलादेशमा परेको छ। यी दुई देशको करिब ४ करोड व्यक्ति बाढी, आँधी र कोभिड- १९ बाट प्रभावित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।