चितवन- चितवनको भरतपुर अस्पताल डुबानमा परेको छ। लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुबानमा परेको हो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरभेसन, स्टोर, स्पाइनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ। ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ। पानीले के कति क्षति पुर्यायो भन्ने यकीन हुन नसकेको उनले बताए।
अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ। पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुबानको समस्या हुने भएपनि अस्पतालभित्रै पस्ने समस्या भने कम थियो। चार वर्षअघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।
उनले भने‚ ‘जेनेरेटर लगाएर पानी फाल्दा पनि फाल्ने ठाउँ छैन।’ पानी पर्न नरोकिएसम्म विकल्प निकाल्नै कठिन भएको अधिकारीले जानकारी दिए।
वर्षेनी सो क्षेत्रमा डुबानको खतरा हुने भएकाले ढल निकासका लागि र खानेपानीका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा अनुरोध गरिएको छ। अधिकारीका अनुसार करिब १२ करोड खर्च लाग्ने भएकाले मन्त्रालयमा अनुरोध गरिएको छ।
अस्पतालसँगै यस क्षेत्रको प्रायः सबै सरकारी कार्यालय डुबानमा परेका छन्। भतरतपुर महानगरपालिका वडा नं. १०, ११, १२ र ७ का धेरै क्षेत्र जलमग्न भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।