किभ- बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्।
विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिएका थिए।
एक जना विपक्षी नेताले राष्ट्रपतिको सपथ ग्रहण समारोह ‘गोप्य’ रुपमा गरिएको र त्यो नौटंकीमात्र रहेको बताए। धेरै युरोपेली मुलुकहरुले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने पुनः दोहोर्याएका छन्।
राष्ट्रपतिको सपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा ठूलो संख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य संचालित समाचार समिति बेल्टाले जनाएको छ।
६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा सपथ लिएका थिए। त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गरेका थिए।
त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्य मान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
पूर्व सोभियत युननिबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपतिमा रहेका छन्। गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गरेका थिए। उनकी कट्टर विरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
विपक्षी नेत्री स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा छिन्। उनले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताएकी हुन्।
उनका दशौं हजार समर्थकहरुले ६ हप्तादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।
उनले भनेकी छन्, ‘जनताले लुकाशेन्कोलाई जनादेश दिएका छैनन्। सपथ ग्रहण कार्यक्रम नौटंकीमात्र हो र यो आफूलाई वैधानिक दाबी गर्ने चालबाजीमात्र हो।’
युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।