गुल्मी- अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ।
विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्यांकीमा सडक माथिबाट पहिरो खसेपछि बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको हो। अहिले सडक खुलाउने काम भइरहेको छ।
त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–४ नादेवा, वडा नं ५ बाँदरेभीर र वडा नं. ६ डहरेलगायत स्थानमा पहिरो खसेपछि बिहीबार बिहानदेखि सो सडक अवरुद्ध बनेको छ। यस्तै रिडी–खज्र्याङ्ग र तम्घास–इन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ।
रिडी–खज्र्याङ्ग सडक खण्डअन्तर्गत मनबाग र मुसिकोट नगरपालिका– ३ स्थित भन्ज्याङ्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए।
सडक अवरुद्ध बनेपछि गुल्मीदेखि पाल्पा–बुटवल आवतजावत गर्ने यात्रु थप समस्यामा परेका छन्। लगातारको वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।