फाइल तस्बिर
काठमाडौं- पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारमा पहिरो खसेको छ। बुधबार साँझ साढे ६ बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो राति नै पन्छाउने प्रयास गरिनेछ।
यसैगरी नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ। ईच्छाकामना गाउँपालिका- ६ मा पर्ने ती स्थानमा दिउँसो साढे ४ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो। साँझ सात बजेबाट दुवै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए।
दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।