फिलिपिन्स- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन्। कोरोना भाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहनेगरी संकटकाल घोषणा गरेका हुन्।
घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्। संकटकाल लम्ब्याउने विषय शुक्रबार सार्वजनिक गरिएको छ। तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को वर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागू हुनेछ।
यसअघि गत मध्य मार्चमा ६ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो। तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक वर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाइ छ।
फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन्।
महामारीबाट भइरहेको मानवीय क्षति न्युनिकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सबै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए।
फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट तीन हजार २५७ जना सङ्क्रमित भएका छन्। योसँगै कुल सङ्क्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ। तीमध्ये दुई लाख आठ हजार ७९० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।
त्यसैगरी कोरोना भाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।