फाइल तस्बिर
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गरेका छन्। क्यारेबियन प्रिमियर लिग (सिपिएल) सक्काएर उनी शनिबार यूएईका लागि प्रस्थान गरेका हुन्।
ट्रिनडाड एन्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई प्रस्थान गरेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। आइपिएल खेल्न सन्दीपसँगै सिपिएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आइपिएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभई युएईमा हुँदैछ।
सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्न लागेका हुन्। आइपिएल आगामी असोज ३ गतेदेखि सुरु हुँदैछ। सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जाबसित हुनेछ। उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो।
सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए। नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो प्रस्थान गरेका थिए।
यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन्।
सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो।
सिपिएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। सिपिएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।