काठमाडौं- नेपालको अर्थतन्त्रले पछिल्लो १ दशकमा ४० लाख रोजगारी सिर्जना गरेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत बिहीबार सार्वजनिक गरेको ‘नेपाल जब्स डाइनोग्स्टिक’ रिपोर्टअनुसार नेपालको अर्थतन्त्र कृषिबाट उद्योग र सेवा क्षेत्रमा आधारित बन्दै जान थालेको र यसले तलबी रोजगार (वेजेज बेस्ड जब) बढाएको देखिएको हो। यद्यपी यो रिपोर्टले कोभिड १९ महामारी पछिको अवस्था भने नसमेटेको विश्व बैंकले जनाएको छ।
सन १९९८, २००८ र २०१८ मा गरिएका राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, सन २०१८ को आर्थिक सर्वेक्षण र गतवर्ष (सन २०१९) मा विभिन्न ६ जिल्लाका ९ सयभन्दा बढी साना तथा मझौला उद्योग (एसएमई) मा गरिएको अध्ययनअनुसार नेपालमा श्रमबजारको दायरा बढ्दै गएको देखिएको विश्व बैंकले जनाएको छ।
नेपालको भौगोलिक अवस्थाका कारण पनि ज्यालामा आधारित रोजगारी बढेको र अधिकांश रोजगार अनौपचारिक क्षेत्रमा रहेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ।
साना तथा मझौला उद्योगमा रोजगारीको अवस्था हेर्दा त्यस क्षेत्रमा उत्पादकत्व निकै कम रहेको र अधिकांश एसएमईमा १ देखि २ जनासम्मले मात्र रोजगार पाएको देखिन्छ। स्थानीय बजारमा मात्र केन्द्रित त्यस्ता उद्योगका उत्पादनहरु क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारको पहुँच बाहिर रहेको पनि रिपोर्टमा भनिएको छ। साना तथा मझौला व्यवसायका लागि सरल कर्जा सुविधा नहुनु, कर प्रशासन बारे पर्याप्त जानकारी नहुनु, करका दर उच्च हुनु, कामदार दक्ष नहुनु, लागत उच्च हुनु तर बजारको सम्भावना नहुनु जस्ता कारणले त्यस क्षेत्रको रोजगारी दीगो बन्न नसकेको पनि विश्व बैंकले जनाएको छ।
पछिल्ला वर्षहरुमा तुलनात्मक रुपमा रोजगारी बढे पनि सबै जनशक्तिलाई राम्रो रोजगारी (क्वालिटी जब) को प्रत्याभुती भने हुन नसकेको रिपोर्टमा उल्लेख छ। मुख्यगरी महिला जनशक्तिका लागि सुरक्षित र दिगो रोजगारको प्रत्याभुती हुन नसकेको विश्व बैंकको निश्कर्ष छ।
पछिल्लो एक दशकमा पुरुष श्रमशक्ति उल्लेख्य संख्यामा निर्माण, व्यापार–बाणिज्य, यातायात–ढुवानीमा आवद्ध हुने र वैदेशिक रोजगारीमा जाने गरेको तर महिला श्रमशक्ति भने पुरुषको तुलनामा निकै कम मात्र रोजगारमा आवद्ध हुन सकेको रिपोर्टमा भनिएको छ।
सन २००८ मा नेपालमा रोजगारमा आबद्ध कुल श्रमशक्तिको १७ प्रतिशत महिला रोजगार रहेकोमा १० वर्ष अवधि अर्थात् सन् २०१८ सम्ममा त्यो संख्या बढेर २४ प्रतिशत पुगेको छ।
विश्व बैंकका वरिष्ठ अर्थशास्त्री डा एलिजावेथ रुपर्ट ब्लुमरका अनुसार स्वरोजगार भन्दा तलबी रोजगारमा श्रमशक्ति बढी आबद्ध हुँदै जानुले नेपालको आर्थिक विकासमा आधारभूत परिवर्तनको संकेत गरेको र विश्व अर्थतन्त्रको दिशा (प्याटर्न) अनुरुप नै नेपालको रोजगारी पनि उत्पादन क्षेत्रबाट उद्योग र सेवा क्षेत्रमा जान थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।