नारायणपुर- कोरोना संक्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन्।
लकडाउनले अन्य बर्थिङ सेन्टर बन्द भएको छ। जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा किरण पोखरेलले जानकारी दिए। ‘लकडाउनमा सेवा लिन प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता भएकाले सङ्ख्या बढेको हो,’ उनले भने।
अस्पतालमा गत वर्ष दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले सामान्य प्रकारको प्रसूति सेवा लिने गरेको बताइएको छ।
‘अस्पतालमा सेवा लिने अन्य बिरामी कम भएपनि प्रसूतिलाई आउने बढ्दैछन्,’ डा पोखरेलले भने। सो सेवा लिनेमध्ये शल्यक्रिया गराउने धेरै छन्।
अस्पतालमा दाङसहित रूकुम, रोल्पा, सल्यान, प्यूठानलगायतका जिल्लाबाट सेवा लिन आउँछन्। प्रसूति सेवा लिने बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख पोखरेलले जानकारी दिए।
अस्पतालमा ३७ नर्सिङ कर्मचारी छन्। ‘कोरोनाको जोखिम बढिरहेको समयमा जनशक्ति कम हुँदा समस्या आउन सक्छ तर अहिलेसम्म अस्पतालमा रहेको जनशक्तिले धानेकै छ,’ उनले भने। जोखिम बढिरहेको समयमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन नसके पनि सेवा दिइरहेको उनले बताए। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सर्वेश शर्माले अस्पतालमा सुरक्षा सामग्रीको अभाव हुन नदिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।