फाइल तस्बिर
कालिकोट- कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ। वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन्। यो वर्ष मानवीय क्षति हुनेगरी पहिरो गएकाले नगरबासी त्रसित बनेको स्थानीयबासी मदन उपाध्यायले बताए।
उनले भने, ‘नाग्मबजार पहिरोबाट सुरक्षित छैन। जुनसुकै बेला बजारमा पहिरो पस्ने खतरा छ।’ स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले बजार जोगाउनमा ध्यान दिनुपर्ने स्थानीयबासी उपाध्यायले बताए।
तीला नदीले बजारको तल्लो भाग वर्षेनी कटान गरिरहेको छ। त्यहाँका स्थानीयबासीका अनुसार पहिरो र नदीको कटान नियन्त्रणमा कसैको ध्यान गएको छैन। बजारका स्थानीयबासी मानबहादुर बुढाका अनुसार पहिराले घर भत्काउने र मानिसले बनाउने क्रम निरन्तर जारी छ।
बजारमा रहेका १२० घरका स्थानीय त्रासित रहेको बुढाले बताए। स्थानीय सरकारले भवन आचारसंहिताअनुसार घर बनाउन आग्रह गरे पनि यहाँका स्थानीयवासीले सो आचारसंहिता पालना गरेका छैनन्। तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भने, ‘पहिरोमा परी मृत्यु भएका परिवारको व्यवस्थापन र बजार व्यवस्थापन नगरपालिकाको पहिलो प्राथामिकता हो।’ यही भदौ १३ गते सो बजारमा पहिरो जाँदा दश जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।