काठमाडौं- १६ वर्षभन्दा कम उमेरका व्यक्तिले अनलाइनबाट सामान खरिद गर्न नपाउने व्यवस्थासहित विद्युतीय माध्यामबाट गरिने व्यापार (ई-बिजनेस) सम्बन्धी ऐनको मस्यौदा तयार पारिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाएको ‘विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापार (ई–बिजिनेसं) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७' को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
मस्यौदामा १६ वर्षभन्दा कम उमेर भएका ग्राहकले गरेको वस्तु वा सेवा खरिदसम्बन्धी सम्झौता त्यस्ता व्यक्तिको संरक्षकको मन्जुरीमा मात्र मान्य हुने व्यवस्था प्रस्ताव गरिएको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले विद्युतीय माध्यामबाट संचालन गरिने व्यापार (ई–बिजनेस) सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो।
हाल विधेयकको मस्यौदामाथि मन्त्रालयमा छलफल जारी छ। विद्युतीय माध्यमको प्रयोग गरी वस्तु, सेवा तथा बौंद्धिक सम्पत्तिको व्यापारलाई व्यवस्थित र नियमित गर्न कानुनको आवश्यकता महसुस गरी सरकारले यो विधेयकको मस्यौदा तयार पारेको उल्लेख छ।
विद्युतीय माध्यमको प्रयोगद्वारा गरिने व्यापारमा आधुनिक प्रविधिको समुचित प्रयोग गर्दै उपभोक्ताको सुविधा र हितका लागि वस्तु, सेवा तथा बौद्धिक सम्पत्तिको खरिद बिक्रीसम्बन्धी प्रक्रियालाई सहज, छिटो, मितव्ययी, भरपर्दो, गुणस्तरीय, समयानुकुल र विश्वसनीय बनाउन र उपभोक्तालाई पर्न सक्ने हानी नोक्सानी बापत क्षतिपूर्तिको व्यवस्था गर्न, विद्युतीय माध्यमबाट गरिने व्यापारलाई व्यवस्थित र नियमित गर्न वाञ्छनीय भएकोले यो ऐन बनाउन लागिएको’ विधेयक मस्यौदाको प्रस्तावनामा उल्लेख छ।
मस्यौदाअनुसार अब अनलाइन व्यापार संचालनका लागि कम्पनी दर्ता, प्यान, भ्याट, कार्यालयको ठेगानासम्बन्धी जानकारी, अनलाईन डोमेन नेम, विज्ञापन वा जानकारी राखिने सामाजिक संजाल लगायतका विषयलाई अनिवार्य बनाइएको छ। अन्य प्रकृतिको व्यापारजस्तै व्यवसाय संचालन इजाजत लिने र हरेक वर्ष त्यसलाई नवीकरणसमेत गर्नुपर्नेछ। त्यस्तै अनलाईन व्यापार गर्ने हरेक व्यापार गर्ने हरेक व्यवसायीले कारोबारको विद्युतीय बिल, रसिद र अन्य आवश्यक कागजातहरु र यस्ता कारोबार सम्बन्धी सम्पूर्ण विवरणको विद्युतीय अभिलेख राख्नु पर्नेछ।
विधेयकको मस्यौदाअनुसार बिक्रीको लागि राखिएका वस्तु वा सेवाको आकार प्रकार, तौल, गुणस्तर, विशेषता र मूल्य, वस्तु वा सेवाको तोकिए बमोजिमको विवरण, वस्तुको उत्पादन मिति तथा वस्तुको उपभोग गर्ने प्रकृति, वस्तुको उपभोगको म्याद समाप्त हुने मिति र लेबलसहितको सूचना अंग्रेजी र नेपाली दुवै भाषामा उल्लेख गर्नु पर्नेछ।
त्यस्तै वस्तु बिक्री गर्दाका बखत प्रवाह गरिएका वारेन्टी तथा ग्यारेन्टीमा उल्लेखित सामानमा त्रुटी भए वा फरक परेमा उपभोक्ताले त्यस्ता समान खरिद गरेको १५ दिन भित्र फिर्ता गर्नुपर्नेछ। ग्राहकलाई गुणस्तरहीन र त्रुटिपूर्ण वस्तु, सामाग्री वा सेवा दिएमा त्यसबाट हुने हानीनोक्सानी बापत क्षतिपूर्तिसमेत दिनुपर्नेछ।
उपभोक्ताले अर्डर गरेको वस्तु २४ घण्टा भित्र वा डेलिभरी गरिसक्नुपर्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।