काठमाडौं- केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत नै रहेको र राष्ट्रिय लेखा तथ्याङ्कमा कुनै परिमार्जन नगरिएको जनाएको छ।
विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको आर्थिक वृद्धिसम्बन्धी केही संचार माध्यामले गलत तथ्यांक प्रेषित गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ। ‘विभागले प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क गत वैशाख १७ गते सार्वजनिक गरेको थियो। जसअनुसार आर्थिक वर्ष २०७६/७७ मा आधारभूत मूल्यमा २ दशमलव २७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो।’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘यो बाहेक विभागले हालसम्म गत आर्थिक वर्षको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा ल्याएको छैन।’
तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/७७ को सातादेखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू र त्यसपछि आर्थिक वर्षको अन्तिम त्रैमासमा कोभिड-१९ को असरलाई मध्यनजर गरी तथ्यांक सार्वजनिक गरेको जनाएको छ।‘ महामारीको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असरको अनुमान गरी आर्थिक वर्ष २०७६/७७ को प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क मिति २०७७ वैशाख १७ गते प्रशासन भएको’ विज्ञप्तिमा भनिएको छ।
जसअनुसार गत आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव २७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो। यो बाहेक विभागले हालसम्म आर्थिक वर्ष २०७६/७७ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको पनि स्पष्ट पारेको छ।
त्यस्तै तथ्याङ्क विभागले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क तयार गरी प्रकाशन गर्दै आइरहेको छ। सोहीअनुरुप विभागले गत आर्थिक तेस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको अनुमान तयार गरी प्रकाशित गरेको छ। जसअनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको मौसमी प्रभाव असमायोजित वैमासिक कुल गार्हस्थ्य उत्पादन (सिजनल्ली अनएडजस्टेड क्वाटर्ली जिडिपी) आधारभूत मूल्यमा आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकको तुलनामा शून्य दशमलव ८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको आधारभूत मूल्यमा आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिकको तुलनामा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २ दशमलव ७२ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान विभागले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।