फाइल तस्बिर
बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्ये सात जनाको पहिचान भएको छ। बाढीमा परेका अझै २४ जना बेपत्ता छन्।
बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो। बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ। सो घटनामा ७० घर पूर्ण क्षतिग्रस्त भएका छन्। ढोरपाटन– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती र ३२ वर्षीया करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
अन्य सात शवको अझै सनाखत हुन सकेको छैन। शव क्षतविक्षतावस्थामा रहेका कारण पहिचानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ।
बाढीले ७० भन्दा बढी घरमा क्षति पुर्याएको छ। बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन- ९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ।
बाढीले ढोरपाटन-९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका पाँच शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।