फाइल तस्बिर
काठमाडौं- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा थप एक हजार शय्याको आइसोलेन केन्द्र सञ्चालन गरिने बताएका छन्। मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित प्रदेशस्तरीय सिसिएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले थप आइसोलेसन केन्द्र यथाशीघ्र निर्माण गर्नेगरी कार्य अगाडि बढाउने बताउँदै प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिए।
आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई प्रदान गरिएको छ। आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्रलगायतसँगको समन्वय र साझेदारीमा सञ्चालन हुनेछन्।
सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदि क्रमशः हटाउँदै जाने, संक्रमण देखिएका स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवं स्थानीय प्रशासनसँग समन्वयात्मक रुपमा अगाडि बढ्ने नीति लिएको जनाएको छ।
बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीका लागि तोकिएको प्रवेशबिन्दुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ, टांगनडुवा झापा, गौरीगञ्ज झापा र भण्टाबारी सुनसरीलाई थप प्रवेशबिन्दु (नाका) कायम गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी बैठकले भोजपुर नगरपालिका–६ देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ शय्याको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्रज्योति संघद्वारा निर्मित मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमतिसमेत दिएको छ।
बैठकले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ। तत्कालका लागि सो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।