पोखरा- कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बंगुरपालनमा आकर्षित भएका छन्। ‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनीमार्फत् मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बंगुरपालन थालेको हो। उनीहरूले पोखरा महानगरपालिका- ३३ शहरेतरास्थित पिगपार्कमा चार हजार ७६० स्क्वायर फुट क्षेत्रफलमा बंगुरपालन शुरु गरेका हुन्।
क्लब पोखरामा आबद्ध युवा व्यवसायी सम्मिलित भई ८४ लाखको लगानीमा बंगुरपालन शुरु गरिएको मित्रता एग्रो प्रालिका निर्देशक जयन्ती मोक्तानले बताइन्। लामो समयको लकडाउनका कारण आफूहरुको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो विकास सम्भव हुने देखेर युवालाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुरपालन शुरु गरिएको मोक्तानले उल्लेख गरिन्। २० देखि ४५ वर्ष उमेर समूहका युवालाई क्लबमा आबद्ध गराई मित्रता एग्रो प्रालीमा शेयर हाल्न सकिने भएकाले कुनै पनि युवाले सानो लगानीमा कृषि कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ छ।
हाल ११५ जना युवा व्यवसायीबाट बंगुरपालन शुरु गरिएको भए तापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुक्षीजन्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्ने लक्ष्य प्रालीले दिएको निर्देशक मोक्तानले जानकारी दिए।
युथ कम्युनिटी क्लबले युवालाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने क्बलका अध्यक्ष पूर्ण श्रेष्ठले बताए। क्लब स्थापनाको एक वर्षभित्रै त्यसमा पनि लकडाउनको समयमा आफूहरुले बंगुरपालनको सुरुआत गरेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको जानकारी दिए।
उनका अनुसार क्लबमा आबद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनीमार्फत् सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन्। पोखरामा स्थापित युथ कमिटी क्लबले पाँच वर्षभित्र नेपालको सातवटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए।
हाल क्लबमा ३५० जना सदस्य रहेको भए तापनि एग्रोमा भने ११५ जनाले शेयर राखेका छन्। अन्य सदस्यसमेत थपिँदै गइरहेको जाकारी दिँदै क्लबका कोषाध्यक्ष विकास गुरुङले क्लबमा आबद्ध सदस्यले २५ हजारदेखि एक लाख रुपैयाँसम्म शेयरमार्फत् लगानी गर्नसक्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।