कालिकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मको पहिरामा भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गरेका छन्। आइतबार बिहान ७:३० बजे गएको पहिरामा परी एकै घरका चार जनाको मृत्यु भएको थियो।
मुख्यमन्त्री शाहीले सुख्खा पहिराका कारण हालसम्म पाँच जनाको निधन भएको, केही संख्यामा मानिस हराइरहेको र दुई जना घाइते भएको घटनाले आफू स्तब्ध भएको जनाएका छन्।
आइतबार एक शोकपत्र जारी गर्दै उनले भनेका छन्, ‘प्राकृतिक विपद्मा परी निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु।’ शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गर्दै मुख्यमन्त्री शाहीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पहिरो गएको खबर पाउनेबित्तिकै प्रदेश सरकारबाट उद्धार, खोजी एवं घाइतेको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको जानकारी गराउँदै उनले कोरोना कहरका बीच शृङ्खलाबद्ध रुपमा भइरहेका प्राकृतिक विपद्का घटना र त्यसबाट भइरहेको मानवीय क्षतिले चिन्तित बनाएको बताएका छन्।
प्राकृतिक विपद् जोखिम क्षेत्रबाट बसोबास सार्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीयबासीलाई उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।