फाइल तस्बिर
कालिकोट- कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे पहिरो जाँदा तीन घर पहिरोमा पुरिँदा तीन जना बेपत्ता भएका छन्। स्थानीयबासी पर्याक शाहीको घर पहिराले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए।
पहिरामा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो। उनीहरूको शव अपराह्न ३ बजे भेटिएको प्रहरी नायब निरीक्षक ओलियाले बताए। पहिरामा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको भने उद्धार गरिएको छ। उद्धार गरिएकाको उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थल जुम्ला र कालिकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जानकारी दिए। घटनामा के कति मानवीय क्षति भयो भन्ने यकीन विवरण आउन नसकेको उपरीक्षक धामीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।