फाइल तस्बिर
हेटौंडा- मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौंडामा ‘खाद्य बैंक’ सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले अभियानका रूपमा खाद्य बैंक सञ्चालन गर्न लागेको हो।
फाउण्डेशनले आगामी सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा खाद्य पदार्थको सङ्कलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको फाउण्डेसनका जिल्ला अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए। कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक सङ्कटले बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका तथा न्यून आय भएका परिवारलाई लक्षित गरेर खाद्य बैंक सञ्चालन गर्न लागिएको उनले बताए।
फाउण्डेसनले सोमबारबाट ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियान शुरु गर्न लागेको उनको भनाइ छ। अभियानमा नगद तथा जिन्सी दुवै सहयोग गर्न सकिने उनले जानकारी दिए। खाद्य बैंकले आवश्यकताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाइन तथा वृद्धाश्रममा समेत सहयोग गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।