फाइल तस्बिर
काठमाडौं- सरकारले आह्वान गरेको लकडाउनमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरले कारबाही गरेको छ। लकडाउनका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनुका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए। ट्राफिकका अनुसार बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन्। ‘अटोलगायत अन्य ५३ वटा सवारी साधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ,’ उनले भने, ‘लकडाउनमा विभिन्न स्थानमा पुगेर कोरोना भाइरसबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन र मास्कलगायत साधन प्रयोग गर्ने खालका जनचेतनामूलक कार्यक्रम गरिए।’
सवारी कारबाहीबाट ट्राफिक प्रहरीले ७ लाख ८२ हजार रूपैयाँ राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताए। त्यसैगरी कोरोना कहरमा पश्चिमीनाका गड्डाचौकी हुँदै भारतको विभिन्न ठाउँबाट स्वदेश फर्किएका नेपालीलाई घरसम्म पठाउने सवारी साधन व्यवस्थापनमा ट्राफिक प्रहरी जुटेको थियो।
त्यस्तै लकडाउनमा कञ्चनपुरमा २३ वटा सवारी दुर्घटनामा परी ८ पुरुष र १ महिला गरी ९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। ‘दुर्घटनामा लकडाउनका समय ४७ जना घाइते भएका छन्।’ उनले भने, ‘अहिले पनि हामी फिल्डमा जोरबिजोर कडाइका साथ लागू गरिरहेका छौं।’
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेयता मास्क नलगाएर हिँड्डुल गर्ने व्यक्तिलाई कारबाही गरिरहेको छ। ‘लकडाउनका बेला पनि मास्क नलगाएर हिँड्नेलाई प्रहरीले कारबाही गरेको थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘निषेधाज्ञा जारी भएपछि पनि बजार क्षेत्रमा कडाइ गर्दै लगिएको छ।’
प्रहरीले निषेधाज्ञा जारी भएयता मात्रै महेन्द्रनगरमा मास्क नलगाएर हिँड्डुल गर्ने ८० जनालाई कारबाही गरेको छ। ‘हामीले मास्कसमेत सो क्रममा वितरण गरेका छौं,’ थापाले भने, ‘जोरबिजोर उल्लङ्घन गर्ने ६४ वटा सवारी साधन पनि कारबाहीमा परेका छन्।’ उनले सुरुआती चरणमा ७७२ साना तथा ठूला सवारीसाधन सम्झाइबुझाई छाडिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।