हरिवन- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सुझाव प्राप्त गर्न सर्लाहीको हरिवनमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य सोच्ने बेला अहिले नरहेको स्पष्ट पारे।
उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्री पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेको गुनासो गरे। उनले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, अस्पताललगायतलाई रकम उपलब्ध गराए पनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए।
उनले जनअपेक्षानुरुप आठै जिल्लामा पिसिआरका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिँदै रौतहटमा जडान प्रक्रिया शुरु भइसकेको र बाँकी जिल्लामा १५ दिनभित्र पिसिआर मेशिन सञ्चालनमा आउनेसमेत बताए।
कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।