सप्तरी- कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश २ को सप्तरीमा भिटिएम (संकलित स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ। सप्तरीसहित प्रदेश २ का जिल्लामा भिटिएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब सङ्कलन कार्य प्रभावित हुन थालेको हो।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले दैनिक १५० देखि २०० को स्वाब सङ्कलन गर्दै आएकोमा सप्तरीमा अब बाँकी ३५० मात्र भिटिएम बाँकी रहेको जनाए।
भिटिएम सकिन लागेपछि स्वाब सङ्कलन कार्य पनि कम गर्नुपरेको उनको भनाइ छ। उपलब्ध भिटिएम सकिन लागेको र थप भिटिएम नआए स्वाब सङ्कलन कार्य रोकिने उनको भनाइ छ।
प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्बन्धित निकायसँग माग गर्दै आइरहेको जानकारी दिँदै उनले सकिनुअगावै भिटिएम किट आउने आशा व्यक्त गरे।
प्रदेश नं २ मा सङ्क्रमित दर बढ्दो रहेको तथा क्वारेन्टिनमा रहेका शङ्कास्पद र आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत बढिरहेकाले प्रत्येक जिल्लामा तत्काल पाँच हजार भिटिएम मौज्दात हुनुपर्ने निमित्त प्रमुख यादवको भनाइ छ।
असार मसान्तसम्म ५ हजार ४४० जनाको स्वाब सङ्कलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब सङ्कलन भएको यादवले जानकारी दिए।
प्रदेश २, सामाजिक विकास मन्त्रालयका अनुसार गत चैतदेखि असार मसान्तसम्ममा प्रदेशमा ४९ हजार स्वाब सङ्कलन भएकोमा साउनदेखि स्वाब सङ्कलनको दायरा बढ्दा बुधबारसम्ममा ९१ हजार ७०८ स्वाब सङ्कलन भएको छ। सबैभन्दा बढी रौतहट, पर्सा र सप्तरीमा स्वाब सङ्कलन भएको सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन्। हालसम्म रौतहटमा १९ हजार ५२५ र पर्सामा १७ हजार ७३७ जनाको स्वाब सङ्कलन भएको छ।
नेपालमा बुधबार ८८५ सङ्क्रमित थप हुँदा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ। तीमध्ये ७ हजार ४५ महिला छन्। प्रदेश २ मा सङ्क्रमित सबैभन्दा बढी छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा प्रदेश २ को सर्लाहीमा १२०, धनुषामा ४३, बारामा २४, रौतहटमा २०, महोत्तरीमा १८, सिरहामा तीन तथा सप्तरी र पर्सामा एक/एक जनामा सङ्क्रमण पुष्टि गरेको छ। यसरी ५८ महिलासहित २३० सङ्क्रमित थपिँदा प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या एक हजार ४२१ महिलासहित नौ हजार ९४५ पुगेको छ।
सात प्रदेश भएको देशमा प्रदेश २ मा मात्र झण्डै २९ प्रतिशत सङ्क्रमित छन्। अहिले प्रदेश नं २ मा सङ्क्रमण दर सबैभन्दा धेरै भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका, शङ्कास्पद र सक्रिय सङ्क्रमित गरी दैनिक करिब एक हजार व्यक्तिको परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दुई महिलासहित ११ जनाको मृत्यु पुष्टि गरेसँगै नेपालमा मृतकको सङ्ख्या १७५ पुगेको छ। पछिल्लो पटक महोत्तरीमा तीन जनाको मृत्यु पुष्टि भएसँगै यस प्रदेशमा मृतकको सङ्ख्या ७३ पुगेको छ। यो देशको कुल संख्याको ४१ प्रतिशतभन्दा बढी हो।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने कुल सात जिल्लामध्ये पाँच जिल्ला प्रदेश २ कै छन्। महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये प्रदेश २ मा संस्थागत आइसोलेसनमा एक हजार ८८१ र होम आइसोलेसनमा तीन हजार ६७५ गरी पाँच हजार ५५६ सक्रिय सङ्क्रमित छन्।
सप्तरीको संस्थागत क्वारेन्टिनमा हाल २३ महिलासहित २२९ छन् भने होम क्वारेन्टिनमा २४६ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।