फाइल तस्बिर
चितवन- भरतपुर महानगरपालिकाले कोरोना संक्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ। श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको बागेश्वरीमा बुधबारबाट आइसोलेसन सञ्चालन गरी संक्रमितको उपचार गर्न लागेको हो।
सो ठाउँमा रहेका २२ वटामध्ये पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ। एउटा घरमा शौचालयसहितका पाँच कोठा रहेका छन्। यसअघि यहाँको पुरानो मेडिकल कलेजले आवास बनाएको ठाउँमा पछि आश्रमले चिकित्सालय चलाएको हो। चिकित्सालय रहेकै क्षेत्रमा रहेका खाली भवनमा आइसोलेसन सञ्चालन गर्न लागिएको हो।
भरतपुर महानगर प्रमुख रेणु दाहालका अनुसार बुधबार साँझसम्ममा आइसोलेसन सबै तयार हुनेछ। बुधबारबाटै बिरामी राखिने उनले बताइन्। बिरामी राखेपछि भित्र काम गर्न कठिन हुने भएकाले महानगरले आवश्यक मर्मतसम्भार, रङरोगन, कार्पेटिङ्, खाटहरु राख्ने, पङ्खा जडान गर्नेलगायतका काम गरिसकेको छ। प्रमुख दाहालका अनुसार शुरुमा ७५ जना त्यहाँ राख्न सकिनेछ। बिस्तारै २०० जनासम्म राख्न सकिने उनले जानकारी दिइन्।
भरतपुर महानगरले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गर्न लागेको हो। यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्नेछ। आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ।
महानगरले प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा वडाध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ। आइसोलेसन, आँपटारीबाट देवघाट जाने सडकसँगैको वन क्षेत्रमा छ। दाहालले शान्त, रमणीय ठाउँमा आइसोलेसन भएकाले संक्रमितको बसाइ समय आनन्दमय एवं छिटो निको हुन सहयोगी हुने अपेक्षा गरेको प्रमुख दाहालले बताइन्। प्राकृतिक चिकित्साको माध्यमबाट पहिलो चरणका संक्रमित छिटो निको हुने विश्वास गरिएको छ।
चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाका अनुसार प्राकृतिक खानासँगै नियमित व्यायम गराइनेछ। सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ। बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवात गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने उनले जानकारी दिए।
फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ।
आइसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराइनेछ। मनतातो पानी नाकको एउटा प्वालबाट तानेर अर्कोबाट फाल्ने जल नेति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्नेजस्ता विधि प्रयोग गरिने कोइरालाले जानकारी दिए।
चिकित्सालयका अध्यक्ष कमल मल्लले प्राकृतिक विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुने बताए। पुरानो मेडिकल कलेजलाई हटाएपछि सो ठाँउको चार हेक्टर वन क्षेत्रलाई धार्मिक वन क्षेत्र बनाइएको छ। धार्मिक हिसाबले महत्वपूर्ण सो ठाउँमा २०० स्थानीय जातका गाई रहेको गौशाला, २३ जना बालबालिका भएको गुरुकूल, हवन कुण्ड रहेको मल्लले जानकारी दिए।
भरतपुर महानगरले नेपालमा संक्रमण देखिए लगत्तै भरतपुर कोरोना अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई जिम्मा लगाएको थियो। यससँंगै महानगरका २९ वडामा ५० वटा क्वारेन्टाइन स्थापना गरी बाहिरबाट आएकाहरुलाई राखेको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन्। महानगर क्षेत्रका बासिन्दा संक्रमित भई प्रथम चरणमा रहेकाहरुलाई अहिले तयार गरिएको आइसोलेसनमा राखिने उनले जानकारी दिइन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार हाल महानगरका ११ वटा क्वारेन्टाइन बाँकी रहेका छन्। ती क्वारेन्टाइनमा ३९ जना रहेको उनले बताए। महानगरको क्वारेन्टाइनबाट १ हजार १०६ जनाले सेवा लिइसकेको उनले जानकारी दिए। हाल महानगर क्षेत्रभित्र १ हजार २५४ जना घरकै क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। घरका एक जनालाई संक्रमण भएमा परिवारका सबैलाई गणना गरी महानगरले निगरानी राख्ने गरेको छ।
जिल्लाको पूर्वी क्षेत्रमा चार नगरपालिकाले रत्ननगर र माडी वडा नम्बर ५ मा आइसोलेसन बनाएका छन्। दोस्रो र तेस्रो तहका संक्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।