‘बालक तिमी कहाँबाट आयौ?’
‘प्रभु हिमालयको देश नेपालबाट।’
‘आहा! कति सुन्दर देश छ, नेपाल। स्वागत छ बालक।’
‘धन्यवाद प्रभु, मेरो देश प्रकृतिको देनले सुन्दर छ। हजुरको मुखारबिन्दुबाट त्यो सुन्न पाउँदा मन झनै पवित्र भयो।’
‘चित्रगुप्त। यो बालकको दोष के हो? र किन यी आए?’
‘प्रभु। यी बालक उमेर नपुगी अल्पायुमा यहाँ आए। अझ बाँच्ने समय छ। तर प्रभु यिनले कष्टकर मृत्यु वरण गर्नु परेछ। म दुःखी भएँ, हेर्दा’, चित्रगुप्त लालखाता हेरी बिन्ती गर्छन् यमराजलाई।
‘तिम्रो उमेर वा अवधि त पुगेको थिएन, मुर्ख बालक। नेपालको प्रकृतिमा जन्मेर किन यति चाँडै मृत्यु वरण ईच्छायौ?’
‘आजित भएँ। मेरो हेरविचार उचित भएन प्रभु। क्षमा प्रभु’, हात जोडदै बालकले भन्यो।
‘हो प्रभु। उसको कुरा सुनिबक्स्योस् एकपटक। हाम्रो यमलोकमा अकालमा कोहीलाई स्वागत छैन। काल समय आएपछि मात्र मृत्युवरणको नियम छ’, चित्रगुप्त पुनः दुई हात जोडी यमराज समक्ष बिन्ती गर्छन्।
‘ढिट बालक, किन समय नपुगी आइस्? के भएको थियो? पशुपतिनाथको देश, गौतम बुद्धको जन्मभूमि, भगवान् रामको ससुराली, विभिन्न देवी देवताको तिर्थस्थल, अध्यात्मिक नेपाल, मनकारी नेपाली। यस्तो पवित्र हिमालय भएको स्थानबाट तँ समय नपुगी यहाँ आउने चेस्टा कसरी गरिस्?’ यमराज क्रोधित भए।
‘यो क्रोध ज्वाला कृपा गर्नुहोस् प्रभु। म विस्तृतमा मेरो पीडा सुनाउँछु। मलाई लाचार बनाइयो। मलाई पिडित बनाइयो र यो अवस्थामा छु’, घुँडा टेकी भूँइमा घोप्टो पर्दै राजु सदा यमराजको खुट्टामा आँसु धारा बगाउँदै भावुक बन्छ।
‘नैराश्यता र अविवेकपूर्ण वविचारले ज्यान जान्छ बालक। उठ र आफ्नो मृत्युकथा बयान गर’, यमराज आफ्नो सिंहासनमा गएर बसी गदा हातमा लिएर रिसले दायाँ हातले हल्लाउदै आदेश दिन्छन्।
० ० ०
राजु सदा बयान दिन्छ-
‘म सामान्य परिवारको मानिस हुँ। मेरो माता पिताले धेरै गरिबीको सामना गरी मलाई लालनपालन गरेका हुन्। म भारतमा बस्दै आएको थिएँ। एक्कासी आएको कोरोना महामारीले गर्दा मेरो जागिर धराशायी बन्यो प्रभु। म कामविहीन भएँ। केही बचाएको पैसा थियो साथमा। त्यसैले काम चलाउँदै केही दिन, केही हप्ता म उतै बसें।
प्रभु, पैसा सकिँदै गयो। अन्नको जुगाड गर्न मुस्किल भयो। अनि मैले अन्य साथीहरुसँग मिलेर घर फर्कने निधो गरें। हप्ता दिनसम्म कष्टपूर्ण तरिकाले हिँडियो। बल्ल नेपाल आइपुग्यौं। नेपालको सीमा क्षेत्र आइपुग्दा कम्ता खुसी लागेको थिएन।
तर सिमाना पारि पनि अनेक दुख र पीडा सहेर हामी सिमानामै अड्कियौं। केही प्रयासपछि यस्तो कोरोना रोगको महामारीमा ज्यान बचाउने आशाले नेपाल छिर्यौं। यहाँ आउँदा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम बनाइएको थियो। परिवारको स्वास्थ्यलाई पनि ध्यानमा दिएर म सुरक्षित बस्ने सोची नेपाल सरकारले तोकिए बमोजिम क्वारेन्टाइनमा बसें।
तर नेपालमा धेरै बिडम्बनापूर्ण अवस्था पाएँ। उपचारको नाममा सस्तो प्रचारबाजी रहेछ। हामी दैनिक समाचार सुन्थ्यौं। कहिले सरकारले गाडी किनेको, कहिले स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, कहिले पदको मात्र लोभ गरेको, कहिले ठूलालाई मात्र कमाउने भाँडो बनाइएको आदि इत्यादि समाचारले हामी निराश बन्थ्यौं। सरकार छ तर श्वास छैन सरकारमा। विभेद छ जनताप्रति। अस्थायी स्वास्थ्य संरचना निर्माण गरिएको छैन। सत्ता र कुर्सीको घिनलाग्दो खेल खेलिन्छ, सरकारबाटै। कर्मशील र निडर स्वास्थ्य स्वयंसेवक छैनन्। म त्यसैको शिकार भएँ, प्रभु।
‘शिकार... कसरी मुर्ख बालक? तिमी यहाँ आफैं मृत्यु वरण गरी अल्पायुमै ती सब देखेर काँतर बनी आएको हौ। निडर बनी स्वास्थ्य माफिया र बेकाम सरकारप्रति प्रतिकार पनि त गर्न सक्थ्यौ नि?’, यमराज झन् बर्बराउँदै सिंहासनबाट उठेर भन्छन्।
‘क्षमा प्रभु। मलाई मर्ने रहर थिएन तर मलाई मारियो। मेरो हत्या गरियो। स्वास्थ्य माफियाको कारण हत्या भयो मेरो। निर्लज्जताका कारण अपमानित मृत्युवरण भयो। मेरो मात्र हैन प्रभु धेरै नेपालीको अकालमा ज्यान जाने निश्चित छ’, राजु सदाले उत्तर दियो।
‘प्रभु। यहाँको दरबन्दीभन्दा धेरै मानिस नेपालबाट आए भने उचित व्यवस्थापन गर्न असहज हुन्छ। यिनको कारक तत्व पहिल्याउन जरुरी छ’, चित्रगुप्त यमराजको नजिकै आएर कानमा फुस्फुसाउछन्।
गम्भीर हुँदै यमराजले सोध्छन्- ‘ के यो सत्य हो मुर्ख बालक? तिम्रो मृत्युको कारण बताऊ। ‘
‘जो आज्ञा प्रभु। म क्वारेन्टाइनमा साथीहरुसँग जसोतसो दिन गुजार गर्दै थिएँ। अस्वस्थ खानपिन र फोहोर पानीका कारण मलाई पखाला लाग्यो। त्यहाँ सबैलाई भय भएछ, मलाई कोरोना भयो भनी। अनि मेरो छेउमा आउन डराए। जीवनजल पनि दिएनन्। मेरो पेट अत्याधिक दर्द हुन थाल्यो। यतिको दर्द म आमाको गर्भमा हुँदा मेरो आमालाई पनि भएको थिएन होला। गुहार गरें, साउती मारें, छटपटाएँ। घण्टौं घण्टा। तर कोही आएनन् मेरो नजिक। त्यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेवक कोही आएनन्’, जोड जोडले रुँदै राजु सदा पीडा सुनाउँछन्।
‘नरोऊ बालक। मैले तिम्रो भाव बुझें तर एकपटक मलाई कान्तिपुर नगरी वा नेपाल लिएर जाऊ। म नितान्त व्यक्तिगत रुपमा तिम्रो पीडा त्यहाँको मनुवा भई हेर्न चाहन्छु। तिम्रो शरीरको दाहसंस्कार भइसक्यो तसर्थ तिमी अहिले मसँग हिँड’, आश्वासन भाव देखाउँदै यमराज भन्छन्।
० ० ०
दुवै नेपाल जान्छन्। चित्रगुप्त साथमा। अनि फर्किएर वार्तालाप गर्छन्।
नेपालको पूर्ण निरीक्षण गरी फर्किँदा यमराजको मन खिन्न हुन्छ र राजु सदाप्रति कारुणिक स्नेह मौलाउन थाल्छ। र क्रोधित हुँदै भन्छन्-
‘चित्रगुप्त... यो महामारीमा के हो त्यस्तो सुन्दर नेपालमा लापरबाही? के तिनीहरुलाई थाहा छैन, यमराजकोमा अल्पायुमा आयो भने नर्कमा बास हुन्छ भनी? के सबैले मृत्यु नै रोजेका हुन् त अपवाद बाहेक? मूर्ख जनता मास्क लाउनुछैन, ठूला माफियाहरु पैसा खान र भ्रष्टाचार गर्न व्यस्त छन्, नेताहरु जनताको सुरक्षा र चासोको बिषयमा ध्यान पुर्याउँदैनन् रहेछन्। कति असभ्य समाज प्रतिपादन गरेका। यस्तो भयावह समयमा किन यिनीहरु आफैंलाई दण्डित गर्न खोजेका?’
‘रिस शान्त गरिबक्स्योस प्रभु। खै म आफैं रणभुल्ल परे’, चित्रगुप्त निराशावादी बनी उत्तर दिन्छन्।
‘धेरै वर्षअघि नेपाल भ्रमण गर्दा प्रिय परोपकारी, सहयोगी, संस्कारी भाइचारा र आत्मीयता भएका नेपाली थिए। अहिले त कली लागेछ क्या हो। सबै कति लोभी, घमण्डी, अप्रिय, असंस्कारी, भ्रष्टाचारी रहेछन। देश निर्माण गर्ने नेता अवगुणी भए, प्राण दिने अस्पताल प्राण लिने भयो, न्यायालयमा न्याय नपाइने, शिक्षा क्षेत्र पनि माफियाको कब्जा, पूर्वाधार निर्माणमा अनियमितता सबैतिर अन्धकार र कालो बादलले छोप्दै गरेको नेपाल। अहो! चित्रगुप्त कति विचलित पाएँ सोझा नेपाली जनतालाई। बिचरा के गरून्, कसलाई भनुन्। उनीहरुको सुनवाइ हुने ठाउँ छैन’, यति भन्दै यमराज राजु सदातिर स्नेहभावले हेर्छन्।
‘बालक तिमी दोषी छैनौ तर त्यहाँको प्रशासननै दोषी रहेछ। नीति निर्माता दोषी रहेछन्। संस्कार दोषी रहेछ। सरकार दोषी रहेछ। विज्ञ दोषी रहेछन्। प्रधानमन्त्री दोषी रहेछ। सबै सिस्टम दोषी रहेछ। अकालमा जाबो १० रुपैयाँको जीवनजल नपाएर मृत्यु वरण गरेछौ। मानवता हराएको स्पष्ट देखिन्छ। त्यहाँ मैले देखेको एउटा बिरामीको २६ लाख अस्पतालको कोरोना उपचार गर्दा बिल भएछ, १३ दिन अस्पताल बस्दा। धनीलाई त्यो कति पनि हैन तर गरिबलाई त्यो आत्महत्या गर्ने बाटो बन्छ। मध्यम वर्गीयलाई त्यो निल्नु न उकल्नु हो, घरविहीन हुने अवस्था हो’, यमराज नैरश्यतामा भन्छन्।
‘अनि प्रभु। केही उपाय छैन यसका निमित्त? सबै नेपालीलाई मेरो हालत हुन नदिई कसरी बचाउने?’, राजु सदा बिन्ती गर्छ।
‘छ बालक निःसन्देह छ। तर त्यो चेतनाले मात्र सम्भव छ।’
‘कस्तो चेतना प्रभु?’
‘नेपालमा दायित्वहीन सरकार छ। त्यसैले निम्न र मध्यम वर्गका जनतासँग कोरोना संक्रमणबाट जोगिन हर कोसिस गर्ने (भिडभाडमा उचित ढंगले मास्क लगाउने, साबुन पानीले नियमित हात धुने, साबुन पानी नभए स्यानिटाइजर प्रयोग गर्ने, कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने, सकेसम्म घरमा नै बस्ने, पेसा-व्यवसाय गर्दा अधिकतम सतर्कता अपनाउने, अनावश्यक भेटघाट नगर्ने लगायत), यती गरियो भने कोरोना लाग्नै पाउँदैन।‘
यमराज थप्दै गए- ‘गम्भीर खालको लक्षण देखियो भने नेपालमा गरिबले राम्रो स्वास्थ्य सेवा पाउँदैनन्। भेन्टिलेटर र आइसियु बेड गरीब जनताको पहुँचमा हुने छैन। लाखौं तिर्ने सामर्थ्य उनीहरूसँग छैन। अनि भएका भेन्टिलेटर र आइसियुबेडले सम्पन्न र पहुचवालाहरुलाई नै पुग्दैन। अब उपचारविहीन भएर मर्ने वा सतर्क भएर आफू र अरुलाई पनि जोगाउने भन्ने आफ्नो छनौट हो। बुझ्यौ बालक?’
‘हस् प्रभु। म आभारी छु। यो चेतना नेपाली जनतालाई कसरी पुर्याइदिने?’
‘राजु सदा मरेर गए पनि उसको आत्मा अमर छ। तिम्रो मृत्युको कथाले त्यहाँको लापरबाही, लाचारीपन देखिन्छ। अब तिम्रै मृत्युले जनताको ज्ञानको चक्षु खुल्नेछ। जाऊ, म तिमिलाई त्यो बरदान दिन्छु, तिमी प्रत्येक नेपालीको मन मनमा बस। उनीहरुलाई झकझकाऊ। अर्को राजु सदा बनी यहाँ आउनबाट बचाऊ। तिमीलाई तथास्तु बालक।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।