काठमाडौं- भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आइतबार नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन्।
महिलाले आइतबार बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया र पोखरीमा ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण राजधानीलगायत बाक्लो बस्ती भएका शहर बजार नजिकका नदी, ताल, तलाउ र पोखरीमा स्नान गर्न निषेध गरिएको थियो। काठमाडौंकै ग्रामीण भेगका नदी किनारमा गत वर्षका तुलनामा निकै थोरै मानिस स्नानका लागि पुगेको ममता सापकोटाले जानकारी दिइन्।
बागमती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपमार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन्। यस वर्ष भने प्रहरीले कोरोना फैलन सक्ने त्रास रहेकाले घरमै स्नानलगायत व्रत, पूजा विधिका काम गर्न आह्वान गरेको थियो। बिहान नदी क्षेत्रमा प्रहरीले माइकिङ गरी सचेत बनाएको थियो।
रजस्वलाका समयमा छोइछाईलगायत कुनै त्रुटी भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। स्नान गरेपछि श्रद्धालु महिलाले अरुन्धतीसहित अत्री, गौतम, भरद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन्। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो।
रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।
आइतबार स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाएर एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ। प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष नजिकै घर भएका थोरै मानिसमात्र मन्दिर पुगेका थिए। कोरोनाबाट बच्न गत बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा र धेरै जिल्लामा बन्दाबन्दी भएकाले धेरै महिलाले घरमै स्नान गरी यो पर्व मनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।