काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन्।
पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले यस्ताे बताएका हुन्। मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए। सरकारको तर्फबाट उद्धार र पुनःनिर्माणको काम तीव्र बनाउने गृहमन्त्रीको भनाइ थियो।
शुक्रबार बिहान खसेको पहिरामा परेर ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन्। गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए।
४० परिवारका लागि पुग्ने राहत सामग्री पुर्याइएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको हो। सोही क्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट रु दुई लाख हस्तान्तरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।