काठमाडौं- जिल्ला अदालत काठमाडौंले गैरआवासीय नेपाली संघ पोल्यान्डका नेता नवराज ढकालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रहेका ढकाललाई तत्काल पक्राउ गरेर ल्याउन जिल्ला अदालतको आदेशले भनेको हो।
पोल्यान्डमा वैदेशिक रोजगारीमा लगी दिने भन्दै ढकालले सिन्धुली घर भएकी लक्ष्मी देवकोटा र उनका नजिकका आफन्त उज्वल पौडेलसँग १६ लाख ५० हजार ठगी गरेको अभियोगमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार ढकाललाई फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७(२) अनुसार पक्राउ पुर्जी जारी गरी अदालत उपस्थित गराउन भनेको छ।
सोही ऐनको दफा ५८ को कार्यविधि पूरा गरी आफैँ उपस्थित हुन आएपछि वा पक्राउ परी आएपछि वा अवधि नाघेपछि नियमानुसार मुद्दा पेश गर्न जिल्ला अदालतले भनेको छ।
ढकालको आग्रहमा नै देवकोटा र पौडेलले चितवनकी महिला कमलाकुमारी थापालाई पटकपटक गरी १६ लाख ५० हजार बुझाएका थिए। रकम प्राप्त भएपछि ढकाल सम्पर्कविहीन भएका थिए।
उनीहरूले ढकालले भनेबमोजिम कमलाकुमारी थापाको स्टान्डर्ड चार्टर्ड बैङ्क चितवन शाखामा रहेको खातामा पटक पटक गरी १६ लाख ५० हजार जम्मा गरेका थिए।
वैदेशिक रोजगारीमा जाने भनी ढकालसँग कुराकानी हुँदा उनले पोल्यान्डमा आफ्नो रेस्टुरेन्ट रहेको र आफ्नै रेस्टुरेन्टमा काम लगाइदिने भनी प्रति व्यक्तिको ११ लाखको माग गरेका थिए। तर उनीहरू दुवैलाई १६ लाख ५० हजारमा लैजाने सहमति भएको थियो।
ढकालको आग्रह अनुसार थापाको उल्लिखित खातामा लक्ष्मी देवकोटाले आधाआधा रकम जम्मा गरेका थिए। पैसा जम्मा भएपछि भिसा कहिले आउँछ भनी सम्पर्क गर्दा अब छिट्टै आउँछ भन्दै अलमलाएर ढकाल सम्पर्क विहीन भएका थिए।
यसरी रकम नआएपछि उनीहरुले चितवनकी थापाविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीमा मिलापत्र समेत भएको थियो। तर रकम नपाएपछि उनीहरुको मुद्दा जिल्ला अदालत काठमाडौं पुगेको थियो।
इजलाशमै पैसा पाएपछि देवकोटा भन्छिन- न्याय पाएँ
बिहीबार सुनुवाईको क्रममा न्यायाधीश भट्टराईको इजलासले ४ लाख रुपैयाँ धरौटी थापासँग माग गर्यो। थापाले इजलासमै पैसा नबुझाए थुनामा जानु पर्ने भएपछि रकमको जोहो गरिन्। उनलाई पीडित देवकोटा र पौडेलको रकम समेत चुक्ता गर्न भनियो।
इजलासमा न्यायाधीशको अगाडि पैसा पाउने सहमति भएपछि देवकोटाले आफ्नो पैसा सबै नआए पनि न्याय पाएको बताइन्। थापाले धरौटीबाहेक १६ लाख रुपैयाँ देवकोटालाई बुझाएपछि रिहा भइन्। अब देवकोटाले ५० हजार रुपैयाँ पाउन बाँकी छ।
नेपाल लाइभसँगको कुराकानीमा देवकोटाले न्याय आफ्नै आँखाले देखेको बताइन्। ‘हामीले पैसाको माया मारिसकेका थियौ,’ देवकोटाले भनिन्, ‘तर अदालतबाट न्याय पाइँदोरहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।