डाेटी- पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा बुधबार बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६० वर्षीय पदम साउद छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हाे।
घटनामा ३३ जना घाइते भएका छन्। तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रनि बोहराले जानकारी दिए। भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो। वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ। घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।