बागलुङ- बागलुङमा समुदायस्तरमा कोरोना परिक्षण थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको छ। शनिबार र आइतबार गरी सदरमुकामभित्रका कम्तीमा २०० जनाको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी, ग्यारेज, फोहर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने व्यक्तिको कोरोना जाँच हुने कार्यालय प्रमुख सुरज गुरौले बताए। 'यो परीक्षणले समुदायमा कोरोना संक्रमणको स्थितिबारे थाहा हुन्छ', उनले भने।
जिल्लामा अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिएको छैन। अधिकांश विदेशबाट आएकामा संक्रमण देखिएको छ। मालढुङ्गा नाकाबाट जिल्ला भित्रने सवारीका चालक, मजदुर र ट्राफिक प्रहरीको पनि स्वाब लिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।
उनका अनुसारमा आज एक सय भन्दाबढी स्वाबको नमूना संकलन गरिएको छ। जाँचका लागि भोलिमात्र स्वाब पोखरा पठाइने भएको छ।
बागलुङमा पहिलोपटक गत चैत १५ गते कोरोना संक्रमणको घटना पुष्टि भएको थियो। त्यसयता २६१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये २३५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार १२५ जना क्वारेन्टाइनमा छन्।
आज मात्रै १३ नयाँ संक्रमित थपिएका छन्। धवलागिरि अस्पतालको भवन निर्माणका लागि महोत्तरीबाट आएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघि आएका उनीहरू बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा थिए। संक्रमित २२ देखि ३५ वर्ष उमेर समूहका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
भवन निर्माणका लागि आएका १७ जनामध्ये एक जनामा कोरोना देखिएपछि सबैको जाँच गर्दा थप १३ जनाका संक्रमण देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।